२१ कार्तिक २०८२, बिहिबार | Fri Nov 7 2025

खोटाङबाट काठमाडौँ जाँदै गरेको हाइलक्स गाडी सुनकोशी नदीमा खस्यो, यात्रु बेपत्ता



सिन्धुली– खोटाङबाट काठमाडौँतर्फ गइरहेको हाइलक्स गाडी सिन्धुलीको गोलन्जोरबाट सुनकोशी नदीमा खसेको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिका १ कुँडुले नजिकबाट गाडी सुनकोशीमा खसेको हो ।

सिन्धुली प्रहरीका अनुसार गाडीमा चारजना सवार थिए । तीमध्ये ३ जना बेपत्ता भएका छन् । एकजनाले हाम फालेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।

भक्तपुरको सूर्यविनायक घर भएका २७ वर्षीय सुशान्त कक्षपति गाडीबाट हाम फालेका हुन् । उनैको जानकारीका आधारमा प्रहरीले तीनजना बेपत्ता भएको जनाएको हो ।

घाइते कक्षपतिको सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बेपत्ता हुनेमा सूर्यविनायक नगरपालिका जगातिका ३२ वर्षीय चालक अविन बडे, ३० वर्षीय प्रणित स्यागु र ३७ वर्षीय बलराम घटुवा रहेका छन् ।

सुनकोशीमा पानीको बहाब उच्च छ । खोजबिनका लागि सशस्त्रको गोताखोर परिचालन गरिएको सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार ००:००  ८ : ४२ बजे