झापा-मेची महाकाली राष्ट्रिय उद्धार यात्राले कोशी र मधेश प्रदेशबाट सडकमा आश्रित ८४ जनाको उद्धार गरेको छ । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनले राष्ट्रिय उद्धार यात्रा सञ्चालन गरिरहेका छन् ।
असोज २६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट मेची महाकाली राष्ट्रिय उद्धार यात्राको शुभारम्भ गरेका थिए । असोज २८ गते मेचीपुलबाट यात्रा प्रारम्भ भएको थियो ।
मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीका अनुसार मेची महाकाली राष्ट्रिय उद्धार यात्राका क्रममा सोमबारसम्म कोशी र मधेस प्रदेशबाट ८४ जनाको उद्धार गरिएको छ ।
कोशी प्रदेशबाट ४४ जना र मधेस प्रदेशबाट ४० जनाको उद्धार गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए । मंगलबारदेखि बागमती प्रदेशमा रहेकाहरूको उद्धार कार्य सुरु गर्ने तयारी छ ।
मानव सेवा आश्रमले सात प्रदेशका १९ जिल्लामा २५ वटा सेवा केन्द्र विस्तार गरेको छ । अहिले मानव सेवा आश्रममा १ हजार ७ सय ९७ जनाले आश्रय लिँदै आएका छन् ।