कनकाई-नेपाल जनमुक्ति पार्टीले मंगलबार झापाको सुरुङ्गामा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । तत्कालीन गोर्खा राज्य र लिम्बूवान बीच १८३१ मा भएको नुनपानी सन्धिको विषयमा जनमुक्तिले अन्तरक्रिया आयोजना गरेको हो ।
नुनपानी सन्धि कार्यान्वयन नभएको जनाउँदै पहिचानवादी शक्ति र समूहले साउन २२ गतेलाई कालो दिनका रूपमा मनाउँदै आएका छन् ।
अघिल्ला वर्षहरूमा सधैँ नेपाल बन्दको आयोजना गर्दै आएका पहिचानवादी शक्ति र समूहले यसपटक भने अन्तरक्रिया कार्यक्रम राखेर सरोकारवालाबीच छलफल गरेको पार्टीका केन्द्रीय सचिव एलबी पालुङ्वाले बताए ।
नेपाल जनमुक्ति पार्टी किरात लिम्बुवान खुम्बुवान प्रदेश समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको हो । समितिका अध्यक्ष परशुराम मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेता सञ्जुहाङ पालुङ्वा प्रमुख अतिथि थिए ।
पार्टीका उपमहासचिव विष्णु थाम्देनले प्रस्तुत गरेको कार्यपत्रका विषयमा बुद्धिजीवी देशु बनेमले टिप्पणी गरेका छन् । उनले सरकारसँग भएको सहमति कार्यान्वयन नहुनु दुखद भएको बताए ।
प्रमुख अतिथि पालुङ्वाले गोर्खा सरकारसँग भएको सहमति कार्यान्वयन नभएसम्म आफूहरू संघर्षमा रहने उल्लेख गरे । कार्यक्रममा पार्टीका उपाध्यक्ष भक्त खेवाङ, बुद्धिजीवी टेकबहादुर खजुम, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष ज्ञानबहादुर इम्बाङ लगायतले बोलेका थिए ।














