बिर्तामोड-बिर्तामोड बसपार्कको विवादित जग्गाका विषयमा स्थानीयले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।
आइतबार बिहान टेकबहादुर गिरी बसपार्क पुगेका माओवादी अध्यक्ष प्रचण्डलाई स्थानीयले समस्या समाधानका लागि ध्यानाकर्षण गराएका हुन् । बसपार्क समन्वय समितिले प्रचण्डलाई ज्ञापनपत्र पनि बुझाएको छ ।
गिरिबन्धु टिस्टेट प्रालिले हदबन्दी छुट पाएकोमध्ये १५ वर्षअघि सार्वजनिक तथा निजी प्रयोजन र बिक्री वितरणमा गइसकेको ५१ बिघा जग्गाको स्वामित्वको विषयमा सर्वोच्च अदालतको फैसलापछि अन्योल छ ।
सरकारी अनुमतिमा बेचबिखन भएको उक्त जग्गामा बसपार्क सहित निजी लगानीको एउटा इन्जिनियरिङ कलेज र १०० भन्दा बढी होटल सञ्चालनमा छन् । स्थानीयले झण्डै ४०० वटा घर बनाइसकेका छन् ।
सर्वोच्च अदालतको फैसलापछि बसपार्क क्षेत्रको जग्गाको किनबेच र बैंकिङ कारोबार प्रभावित भइरहेका बेला स्थानीयले पूर्व प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएर समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।
















