बिर्तामोड-पूर्वी नाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको चिया निर्यात भएको छ । नेपाली चियाको मुख्य बजार भारत हो ।
मेची भन्सार कार्यालय काँकडभिट्टाका अनुसार तीन महिनामा ६ हजार ४ सय २६ दशमलव ७६ मेट्रिक टन चिया निर्यात भएको छ । निर्यातसँगै चियाको मूल्य बढेको भन्सार अधिकृत गणपति कँडेलले बताए ।
गत आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब १३ करोड ५९ लाख ९४ हजारको चिया निर्यात भएको थियो । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आर्थिक वर्षमा चियाको निर्यात बढेको हो ।
चिया उद्यमी आदित्य पराजुली भारतमा चिया उत्पादनमा कमी आएकाले नेपालबाट निर्यात बढेको बताउँछन् । सरकारले सहजीकरण गरिदिए थप निर्यात हुने पराजुलीले बताए ।