८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026

एमालेको राष्ट्रिय कार्यशाला सकियो : माघदेखि चैतसम्म वडा केन्द्रित अभियान



झापा-नेकपा एमालेले आगामी माघदेखि चैतसम्म वडा केन्द्रित अभियान सञ्चालन गर्ने संकल्प गरेको छ । आधारभूत तहसम्म कमिटी निर्माण र सदस्यता विस्तार गर्ने उद्देश्य राखेर एमालेले वडा केन्द्रित तीन महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

जनतासँग जनसंगठन अभियान सञ्चालन गर्ने गरी नेकपा एमाले केन्द्रीय संगठन विभागद्वारा आयोजित तीन दिने कार्यशाला सकिएको सचिव माधवप्रसाद ढुंगेलले बताए । कार्यशाला तीन दिनसम्म चलेको थियो ।

स्थानीय तहमा पार्टी कामका समस्या र समाधान विषयक राष्ट्रिय कार्यशालामा देशभरिबाट पार्टीको कार्यकारी जिम्मेवारीमा रहेका प्रदेश, जिल्ला, जनसंगठन र तोकिएका जनप्रतिनिधिसहित ३०० जनाको सहभागिता रहेको थियो ।

कार्यशालाले आगामी फागुन चैत महिनाभित्रै सदस्यता नवीकरण गरिसक्ने निर्णय पनि गरेको छ । २०८१ भित्रै सम्पूर्ण पार्टी सदस्यहरूलाई अनलाइनमा ल्याउने संकल्प पनि भेलाले गरेको सचिव ढुंगेलले जानकारी दिए ।

भेलाले आगामी चैतमा राष्ट्रिय युवा महोत्सव आयोजना गर्न पार्टी केन्द्रसँग आग्रह पनि गरेको छ । कार्यशालाले पार्टी र नेतृत्वका विरुद्ध हुने षड्यन्त्र र दुष्प्रचारको जमेर प्रतिवाद गर्दै पार्टी नीति, नेतृत्व र राजनीतिक कार्यदिशालाई जनताबीच स्थापित गर्ने संकल्प गरेको छ ।

कार्यशालामा सहभागीलाई १० वटा समूहमा विभाजन गरी छलफल गराइएको र त्यसबाट प्राप्त भएका राय सुझावलाई अन्तिम रूप दिइएको सचिव ढुंगेलले बताए ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार ००:००  १० : ५४ बजे