सतासीधाम-झापाको सतासीधाममा मङ्सिर १४ गतेदेखि गोरक्षा महोत्सव हुने भएको छ । गोलो गोवर्धन गौशालाको आयोजनामा महोत्सवको तयारी भइरहेको हो ।
यो वर्ष सवा करोड रुद्राक्ष जडित ५१ फिट अग्लो शिवलिङ्ग महोत्सवको मुख्य आकर्षण हुनेछ । गौशालाका संरक्षक समेत रहेका अध्यक्ष नन्दकिशोर जी महाराजले महोत्सवको तयारी तीव्र रुपमा भइरहेको बताए ।

गौशालाले सोमबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी र व्यवस्थापनका विषयमा जानकारी गराएको हो । १४ गते अखण्ड हरिनाम संकिर्तन प्रारम्भ हुनेछ ।
१५ गते बाला चतुर्दशी उत्सवका अवसरमा सदबीज रोपण, १६ गते विद्त सम्मेलन, १७ गते अनुष्ठान प्रारम्भ, पञ्चकुण्डीय श्री रुद्र महायज्ञ तथा ५१ फिट अग्लो रुद्राक्षको पार्थिव शिवलिङ्गमा विशेष पूजा अर्चना लगायतका कार्यक्रम राखिएका छन् ।
झापाका सामुदायिक विद्यालयका छात्रहरूबाट गोरक्षाको आवश्यकता सम्बन्धी प्रतिस्पर्धात्मक विचार गोष्ठी २० गते आयोजना गरिएको छ । २१ गते विवाह पञ्चमी श्रीराम तुलसी शालिग्राम विवाह महोत्सव आयोजना गरिएको छ ।
२३ गते नेपाल प्रहरी तथा उत्कृष्ट गौसेवक सम्मान र २४ गते गोरक्षा महोत्सव सहित धार्मिक कार्यक्रम हुनेछ । दशौँ वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा करिब १ करोड खर्च हुने अनुमान गरिएको छ ।
राधे राधे परिवारका प्रवक्ता घनश्याम शास्त्री खनालका अनुसार दक्षिण एसियाली मुलुक लगायत युरोपियन मुलुकमा बसोबास गर्ने नेपाली भाषीले दिएको आर्थिक सहयोग नै यो कार्यक्रमको मुख्य स्रोत हो ।
गौशालामा ६६२ वटा गाई र तिनका बाछाबाछी छन् । स्थानीय किसानले गौसेवाका लागि २१६० वटा गाई लगेका छन् । किसानले गौशालाबाट गाई निशुल्क प्राप्त गरेका हुन् ।
गौशालाका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक वेदप्रकाश अग्रवालका अनुसार गौशालामा मासिक ६ लाखभन्दा बढी खर्च छ । गाईको आहारा, गौशालाका सेवकको पारिश्रमिक, भोजन लगायतमा खर्च हुने जनाइएको छ ।
२०७२ सालमा स्थापना भएको गौशाला परिसरमा २५ वटा पूर्वाधार निर्माण भएका छन् । चार वर्षमा करिब १० करोड मूल्य बराबरका लागतमा संरचनाहरू निर्माण भएको गौशालाले जनाएको छ ।