सतासीधाम- झापाको शिवसताक्षीमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा १६६ जनाले सेवा लिएका छन् ।
स्वास्थ्य जाँचका लागि आएकामध्ये दुई जनामा पाठेघरको क्यान्सर देखिएको छ । चार जनाको पाठेघर खसेको र एक जनाको मुटुमा समस्या देखिएको वडा नम्वर ६ का अध्यक्ष मनोज कार्कीले बताए ।
शिविरमा मुटु परीक्षण गराएका एक जनालाई तत्काल बीएण्डसी अस्पताल भर्ना गरिएको छ । अन्य ६ जनालाई पनि अस्पताल रेफर गरिएको छ । शिविरमा निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।
शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले ग्रामीण क्षेत्रका महिलामा हुने समस्यामा केन्द्रित भएर स्वास्थ्य शिविर चलाइएको बताइन् ।
वडाध्यक्ष सिकिन पासवानले शिवसताक्षीको दक्षिणी क्षेत्रका नागरिकलाई स्वास्थ्य सुविधा उपलब्ध गराउन यस्ता शिविर महत्वपूर्ण हुने बताए ।
पूर्वाञ्चल क्यान्सर अस्पताल सँगको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो । शिविरमा सवल नेपालले समन्वय गरेको छ ।