१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

महिलालाई आत्मनिर्भर बनाउन बाख्रा बितरण



बिर्तामोड- बिर्तामोड नगरपालिकाले कृषकलाई ६७५ वटा बाख्रा वितरण गरेको छ । नगरले आर्थिक वर्ष २०७४ देखि हालसम्म नगरको मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत महिला कृषकलाई बाख्रा वितरण गरेको हो ।

कृषकलाई १९ वटा उन्नत बोयर जातको बीउ बोकासमेत वितरण गरिएको छ । नगरको पशुपंक्षी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले यो अवधिमा १५ वटा महिला कृषक समूहका २२५ जना सदस्यलाई बाख्रा वितरण गरेको बताइन् ।

नगरले बाख्रा दिएपछि खोर पनि निर्माण गरिदिने गरेको छ । आर्थिक वर्ष २०७४ यता २ सय २५ वटा खोर निर्माण गरिएका छन् । नगरले सुरुवातमा २ लाख ६५ हजार लगानी गरेर बाख्रा खरिद गरी बाख्रा साटासाट कार्यक्रमलाई अघि बढाएको थियो ।

यस कार्यक्रम अन्तर्गत बाख्रा प्राप्त गर्न एउटा महिला कृषक समूहमा १५ जना अनिवार्य छ । समूहका सबै सदस्यलाई तीन तीन वटाको दरले बाख्रा वितरण हुन्छ । बाख्रा प्राप्त गरिसकेपछि अर्को वर्ष समूहका सबैले तीन तीन वटाकै दरले बाख्रा नगरलाई बुझाउनु पर्छ ।

नगरपालिकाले सोमबार मात्रै बिर्तामोड २ को ओम नवज्योती कृषक समूहका महिलालाई ४५ वटा बाख्रा वितरण गरेको छ । जीवन आधार कृषक महिला समूहले जिम्मा लगाएका बाख्रा नवज्योतीलाई वितरण गरिएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईले समूहलाई बाख्रा हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले महिलालाई आत्मनिर्भर बनाउने उदेश्यले बाख्रा वितरण गरिँदै आएको बताइन् । उनले बाख्रालाई राम्रो घाँस पानी गरेर मनग्य आम्दानी गर्न सकिने भन्दै मेहनत गर्न आग्रह गरेकी छन् ।

वडाध्यक्ष किशोरकुमार पौडेलले बिर्तामोड नगरपालिका खसीको मासुमा आत्मनिर्भर बनेको भन्दै थप बजारीकरणको लागि उत्पादनमा जोड दिन गरेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार ००:००  ९ : ४३ बजे