१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

‘व्यवसायी सदस्य राहत कोष’ मा युवा व्यवसायी भट्टराईको दोस्रो सहयोग



झापा-व्यवसायीहरूबीच सहकार्य, सहअस्तित्व र आपसी सहयोगको भावना अभिवृद्धि गर्ने उद्देश्यले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’ मा युवा व्यवसायी निर्मल भट्टराईले २१ हजार रुपैयाँ सहयोग गरेका छन् ।

जन्मदिनको अवसर पारेर भट्टराईले उक्त रकम संघका अध्यक्ष राजु न्यौपानेलाई हस्तान्तरण गरेका हुन् । सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै व्यवसायीहरूको हितका लागि स्थापना गरिएको कोषमा सहयोग गर्न पाउँदा खुशी लागेको भट्टराईले बताए।

नेपाल अलैँची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्यसमेत रहेका भट्टराईले यसअघि पनि जन्मदिनकै अवसरमा राहत कोषका लागि ५१ हजार रुपैयाँ सहयोग गरेका थिए।

कोषमार्फत आकस्मिक दुर्घटना, स्वास्थ्य समस्या, प्राकृतिक विपत्ति तथा अन्य कठिन परिस्थितिमा परेका व्यवसायी सदस्यलाई राहत उपलब्ध गराउने योजना रहेको संघले जनाएको छ।

हालसम्म राहत कोषमा करिब ३० लाख रुपैयाँ संकलन भइसकेको संघले जनाएको छ। कोषका संयोजक राजकुमार घिमिरेले व्यवसायी समुदायमा मानवीय सहयोगको संस्कार विकास गर्न कोषले सकारात्मक भूमिका खेलेको बताए ।

कोषमा योगदान गर्ने दातालाई संघले कदरपत्र प्रदान गर्दै सम्मान गर्ने गरेको छ। भट्टराईको जन्मदिन संघको कार्यालयमा मनाइएको थियो।

प्रकाशित मिति : १० जेष्ठ २०८३, आइतबार ००:००  ५ : ०९ बजे