५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

कांग्रेसका जिल्ला सदस्य बुढाथोकीको निधन, तीन दिनसम्म पार्टीको झण्डा झुकाइने



खुदुनाबारी- नेपाली कांग्रेस झापाका सदस्य बाबुराम बुढाथोकीको ६४ बर्षको उमेरमा निधन भएको छ । उनी केही समयदेखि अस्वस्थ थिए । बिहीबार साँझ अर्जुनधारा–३ खुदुनाबारीस्थित निजी निवासमा उनको निधन भएको हो ।

२०१७ साल माघ १० गते पाँचथरको याङनाममा बुवा मनप्रसाद बुढाथोकी र आमा नैनकला बुढाथोकीका कोखबाट जन्मिएका बुढाथोकीको परिवार २०२४ सालमा बसाई सरी झापाको खुदुनाबारीमा बस्दै आएको थियो ।

विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसले जारी राखेको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रुपमा सहभागी भएका उनी २०४९ सालमा नेपाली कांग्रेसको तर्फबाट खुदुनाबारी गाविसको ३ नम्बर वडाको वडाध्यक्ष निर्वाचित भएका थिए ।

बुढाथोकीको पार्थिव शरीरमा नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति केशवराज पाण्डे, सचिव कृृष्ण हुमागाई, कोशी प्रदेश सदस्य रञ्जिता कार्की, २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली, अर्जुनधारा नगर सभापति हेमराज खरेल लगायत नेता कार्यकर्ताले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली गरेका छन् ।

खुुदुनाबारीस्थित कैदले घाटमा उनको पार्थिव शरीर अन्त्येष्टि गरिएको छ । जिल्ला सदस्य बुढाथोकीको निधनप्रति शोक समवेदना ब्यक्त गर्दै तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने र जिल्ला पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय भएको सचिव कृष्ण हुमागाईले जानकारी दिए ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार ००:००  २ : ३५ बजे