काठमाडौँ-राष्ट्रिय परीक्षा बोर्डले दुईपटक रजिस्ट्रेसन फारम भर्नुपर्ने व्यवस्था परिवर्तन गरेको छ । बोर्डले कक्षा नौ मा मात्र विद्यार्थीको रजिस्ट्रेसन फारम भर्ने व्यवस्था मिलाएको हो ।
यसअघि कक्षा नौ र ११ मा दुईपटक रजिस्ट्रेसन फारम भर्ने व्यवस्था थियो । विद्यार्थीले दुवैपटक रजिस्ट्रेसन फारम भर्दा शुल्क बुझाउँदै आएका थिए ।
बोर्डले आगामी वर्षदेखि शुल्क नउठाउने निर्णय गरेको छ । बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले अब कक्षा नौ मा मात्रै रजिस्ट्रेसन फारम भर्नुपर्ने बताए ।
बोर्डले रजिस्ट्रेसन बापतको शुल्क मिनाहाका लागि अर्थ मन्त्रालयमा सिफारिस पठाउने पनि निर्णय गरेको छ । यो वर्ष भने रजिस्ट्रेसन फारमको प्रक्रिया अगाडि बढेकाले बोर्डले शुल्क उठाउनेछ ।
शिक्षामन्त्री विद्या भट्टराईको निर्देशनमा बोर्डले कक्षा नौ मा मात्र रजिस्ट्रेसन फारम भर्ने व्यवस्था मिलाउँदै शुल्क नउठाउने निर्णय गरेको हो ।


















