काठमाडौँ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौँका मेयर बालेन साह एमालेविरुद्ध परिचालित भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै एमाले महासचिव पोखरेलले मेयर साहविरुद्ध आक्रोश व्यक्त गरेका हुन् ।
शुक्रबार दरबार मार्गमा एमालेले आयोजना गरेको सभाबाट फोहोर भएको जनाउँदै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गर्ने निर्णय सार्वजनिक गरेको थियो । कार्यक्रमस्थल सफा गरिसकेको अवस्थामा महानगरले जरिवानाको पर्चा पठाएको महासचिव पोखरेलको टिप्पणी छ ।
महानगरको चिठी सार्वजनिक भए लगत्तै एमाले महासचिव पोखरेलको प्रतिक्रिया आएको हाे । दरबार मार्गको कार्यक्रम सकेर आयोजकका तर्फबाट सरसफाई भइरहेको अवस्थामा महानगरको चिठी सार्वजनिक भएपछि मेयर साहप्रति एमाले थप आक्रमक भएको छ ।
कार्यक्रमस्थलमा सङ्कलन भएको फोहोर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको जनाउँदै महासचिव पोखरेलले अनुरोधलाई स्वीकार गरेर सहयोग गर्नुको साटो फोहाेर गरेको भनेर जरिवानाको प्रचार गरिएको बताए ।
‘मेयरको ध्यान सरसफाईमा नभई जरिवानाको स्टन्टबाजीमा थियो’, महासचिव पोखरेलले भनेका छन्, ‘जागरण सभा यस प्रकारका स्टन्टबाजी गर्नेहरूलाई सचेत बनाउनका लागि पनि हो ।’


















