१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

पूर्व महामन्त्री सिटौलाले भने, ‘काङग्रेसले धोकाको राजनीति गर्दैन’




बिर्तामोड– नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कांग्रेसले गरेको सम्झौता अनुसार वर्तमान सरकार पुरै अवधि सञ्चालन हुने बताउनु भएको छ ।

नेपाली कांग्रेस झापा जिल्ला पार्टी कार्यालयमा आयोजित पार्टी पदाधिकारी र नेपाल तरुण दल झापाको संयुक्त भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले कांग्रेसले कहिल्यै धोकाको राजनीति नगर्ने स्पष्ट पार्नुभयो ।

‘धोकाको राजनीतिमा बढी चलखेल गर्दा प्रचण्ड नेतृत्वको सरकार ढलेको हो’, उहाँले भन्नुभयो, ‘विश्वास र इमान्दारिता नै नेपाली कांग्रेसको पहिचान र सम्पत्ति हो । कांग्रेसले सत्ता साझेदार दल र जनतालाई कहिल्यै ढाँटेको छैन ।’

२००७ सालदेखि संविधान निर्माण सम्मका हरेक राजनीतिक परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेको बताउँदै पूर्व गृहमन्त्री समेत रहनुभएका नेता सिटौलाले सबै नीतिनिर्माण कांग्रेसकै नेतृत्वमा भएकाले गाउँ–गाउँमा विकास र शिक्षा पुगेको उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले तरुण दल पार्टीको शक्ति भएको बताउँदै पद खाली रहेका स्थानमा पदपूर्ति गरेर तरुण दलका गतिविधि क्रियाशील बनाउन तहगत संरचनाहरुलाई आह्वान गर्नुुभयो ।

नेपाल तरुण दल झापाका अध्यक्ष गोपाल तामाङको अध्यक्षतामा सम्पन्न भेलामा भूमीराज राई, राजकुमार नेउपाने, गोकुल श्रेष्ठ, लवकुमार चौधरी, राजीव लिम्बू, तुला बोखिक, विशाल तामाङ, शेरबहादुर बस्नेत, खड्ग लिम्बू, अर्जुनकुमार शर्मा, मोहन बराइली लगायतले आ–आफ्नो धारणा राखेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार ००:००  ९ : २१ बजे