१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

बिर्तामोडमा बेच्न राखिएको रायोको सागमा विषादीको मात्रा अत्याधिक



बिर्तामोड– झापाको बिर्तामोड कृषि बजारबाट संकलन गरिएको हरियो रायोको सागमा अत्यधिक विषादीको मात्रा भेटिएको छ । केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई, बिर्तामोडले गरेको परीक्षणमा रायोको साग ‘उपयोग अयोग्य’ देखिएको हो ।

प्रयोगशालाले सार्वजनिक गरेको परीक्षण प्रतिवेदनअनुसार बिर्तामोड बजारबाट संकलन गरिएको रायोको सागमा कार्बामेट ८२ र अर्गानोफस्फेट समूहको विषादीको अवशेष ९९ प्रतिशतभन्दा बढी भेटिएको उल्लेख छ । प्रतिवेदनमा यस्तो अवस्था ‘उपभोग अयोग्य’ श्रेणीमा पर्ने जनाइएको छ ।

उक्त रायोको साग व्यवसायी रामज्योति यादवले बिक्रीका लागि ल्याएको उल्लेख गरिएको छ । प्रयोगशालाको मापदण्डअनुसार ३५ प्रतिशतभन्दा कम विषादी अवशेष भएको तरकारी मात्र उपभोग योग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन क्वारेन्टाइनमा राख्नुपर्ने र ४५ प्रतिशतभन्दा बढी भए नष्ट गर्नुपर्ने व्यवस्था छ ।

प्रतिवेदनमा अन्य केही तरकारी नमुनाहरू भने उपभोग योग्य देखिएका छन् । तर रायोको सागमा अत्यधिक विषादी फेला परेपछि उपभोक्ताको स्वास्थ्य सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ ।

विशेषज्ञहरूले तरकारी उत्पादनमा जथाभावी विषादी प्रयोग रोक्न किसान तथा व्यापारीलाई सचेत गराउनुपर्ने बताएका छन् । बजारमा नियमित अनुगमन र परीक्षणलाई थप प्रभावकारी बनाउन स्थानीय तह तथा सम्बन्धित निकायलाई दबाब बढेको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८३, आइतबार ००:००  १० : २८ बजे