८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गर्ने पूर्व सचिवसहित चार जनालाई आठ वर्षको कैद सजाय



झापा-पूर्व सचिव गजेन्द्र ठाकुर सहित चार जनालाई विशेष अदालतले आठ वर्ष १ महिना कैद सजाय सुनाएको छ । मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको जनाउँदै अदालतले सोमबार उक्त सजाय तोकेको हो ।

विशेष अदालतले भदौ २५ गते अनियमितता प्रकरणमा पूर्व सचिव ठाकुर सहित चार जनालाई दोषी ठहर गरेको थियो । पूर्व सचिव ठाकुरलाई आठ वर्ष एक महिना कैद र बिगो बमोजिम जरिवाना निर्धारण गरिएको विशेष अदालतका रजिस्ट्रार जितेन्द्र बाबु थपलियाले बताए ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यदय तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सजाय निर्धारण गरेको हो । पूर्व सचिव ठाकुरलाई १० करोड १० लाख ६१ हजार ७५ जरिवाना तोकिएको छ ।

मेलम्ची आयोजनाका तत्कालीन प्रमुख सूर्यराज कँडेल र रामचन्द्र देवकोटालाई आठवर्ष एकमहिना कैद सजाय हुनेछ । उनीहरूले क्रमश १० करोड १० लाख ६१ हजार ७५ र २ करोड ९५ लाख ६५ हजार ६०३ जरिवाना तिर्नेछन् ।

जेष्ठ नागरिक समेत रहेका शिवकुमार शर्मालाई आठ वर्ष कैद हुनुपर्ने भएपनि दुई वर्ष कैद छुट तथा २ करोड ९५ लाख ६५ लाख ६०३ रुपैयाँ जरिवाना तोकिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत फागुन ६ मा उनीहरु विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । आयोजनाको विभिन्न प्रकृति र चरणमा भ्रष्टाचार भएको अख्तियारको दाबीका बीच विशेष अदालतले उनीहरूलाई दोषी ठहर गरेको हो ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार ००:००  ६ : २९ बजे