११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

कृषि क्षेत्रको विकासका लागि खाका बनाएर काम गर्ने एमाले झापाको तयारी



बिर्तामोड– नेकपा एमाले झापाको स्थानीय विकास विभागले कृषि क्षेत्रको व्यावसायिक दिगो विकासका लागि साझा नीति बनाएर काम गर्ने तयारी गरेको छ ।

कृषि क्षेत्रमा देखिएका समस्या र चुनौतीलाई व्यवस्थापन गर्दै दिगो नीति बनाएर काम गर्ने गरी विभागले सरोकारवालासँग सामूहिक छलफल गरेको हो ।

स्थानीय तहका जनप्रतिनिधि, किसान र पार्टीका नेताबीच त्रिपक्षीय छलफल भएकाे र साझा रणनीति बनाएर काम गर्ने तयारी गरिएको विभागका संयोजक शिव ढुंगेलले बताए ।

छलफलमा अखिल नेपाल किसान महासंघ झापाका अध्यक्ष बिमल निरौला र कृषि विज्ञ दुर्गा थापा पनि सहभागी भएका छन् । अध्यक्ष निरौलाले स्थानीय तहबाट अपेक्षित सहयोग नपाएको बताए ।

कृषिमा आधुनिककरण र उन्नत जातको बीउबिजनको व्यवस्थापनमा ध्यान दिन सके व्यवसायिक रुपमा उत्पादनका काम अघि बढ्ने अध्यक्ष निरौलाको तर्क छ ।

नेकपा एमाले झापाको कार्यालयमा सोमवार भएको कार्यक्रममा स्थानीय तहले गरेका काम र कठिनाइका बारेमा चर्चा गर्दै आगामी दिनमा गर्नुपर्ने कामको सन्दर्भमा समेत छलफल भएको संयोजक ढुङ्गेलले बताए ।

स्थानीय तहले कृषि क्षेत्रमा बजेट व्यवस्था गरेर काम गरिरहे पनि व्यवस्थित योजना नहुँदा परिणाम निकाल्न कठिन भएको धारणा किसान अगुवाले राखेका छन् ।

कार्यक्रममा मेचीनगरका प्रमुख गोपाल बुढाथोकीले खरिद ऐनका कारण किसानलाई दिनुपर्ने वीउ खरिद गर्न पनि कानुनी अड्चन हुने गरेको बताए ।

एमाले नेता देवकुमार राईले कृषि क्षेत्रको विकास नहुनुमा भारतीय बजारको हस्तक्षेप मुख्य कारक रहेको बताए ।कचनकवलका उपाध्यक्ष नवराज भट्टराईले तीन तहको सरकारले कृषि क्षेत्रको विकास गर्न रणनीतिक योजना निर्माण गर्नुपर्नेमा जोड दिए ।

एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरीले किसान, जनप्रतिनिधि र पार्टीबीचको समन्वयमा रणनीतिक योजना बनाएर कृषि क्षेत्रको विकासमा लाग्ने बताएका छन् ।

अध्यक्ष गिरीले अहिलेको आवश्यकता भनेको कृषिलाई आधुनिकिकरण गर्दै उत्पादन वृद्धि गर्नु रहेको बताए । अध्यक्ष गिरीका अनुसार कृषिमा समृद्धि हासिल गर्ने, भूमिहीनलाई भूमि र आवासविहीनलाई आवासको व्यवस्था गर्दै रोजगारको अवसर प्रदान गर्नु एमालेको दायित्व हो ।

तत्कालै खाका बनाएर कृषि विकासका काम अघि बढाउने उनको धारणा थियो । गौरादहका मेयर छत्रपति सुवेदीले नीति निर्माण गरेरै किसानका समस्या समाधानमा जाने बताए ।

कार्यक्रममका प्रमुख अतिथि नेकपा एमाले झापाका इञ्चार्ज रोमनाथ ओलीले कृषि क्षेत्रको विकासमा किसानलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

उनले ६ महिनाभित्र कार्यक्रम निर्माण गरेर झापाको समग्र कृषि क्षेत्रको समस्यामा समाधान खोज्न आग्रह गरे । कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला सचिव तुलसी कार्कीले गरेका थिए ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार ००:००  ९ : २० बजे