बिर्तामोड– बिर्तामोड नगरपालिकाको दोस्रो नगरसभाको पाँचौं अधिवेशनको दोस्रो बैठक सोमबार १ बजे बस्नुपर्ने थियो । तर, ४ बजेपछि मात्रै बैठक सुरु भयो ।
आगामी आर्थिक वर्षका लागि नगरपालिकाले विनियोजन गरेको बजेटमाथि छलफल गर्न आयोजित बैठक असन्तुष्ट वडाध्यक्षले समयमै सुरु गर्न मानेनन् ।
कतिपय नगरस्तरीय योजना समावेशमा विभेद भएको आराेप लगाउँदै असन्तुष्ट देखिएका वडाध्यक्षहरूले तीन घण्टा घुर्की मात्रै लगाए । तर, बैठक सुरु भएपछि भने चुइक्क बोलेनन् ।
‘बैठकमा वडाध्यक्षहरूको ठूलै असन्तुष्टि आउला जस्तो थियो’, एकजना वडा सदस्यले भने, ‘तर उहाँहरू चुपचाप बस्नुभयो ।’ बैठकमा गडगडाहट तालिकाबीच आगामी आर्थिक वर्षको बजेट पारित भयाे ।
बैठकले कतिपय विधेयक पारित पनि गरेको छ । बजेटमाथिको छलफलमा जम्मा तीनजना वडा सदस्यले मात्र आफ्ना धारणा राखेका छन् ।
वडा नम्बर ६ का सदस्य जीवन बाँस्कोटा, वडा नम्बर १० का पृथ्वी बस्नेत र वडा नम्बर २ का ओम गौतमले नगरको विकास र आगामी योजनाका विषयमा केही जिज्ञासा र सुझाव बैठकमा राखे ।
वडा सदस्य बाँस्कोटा फोहोर व्यवस्थापनमा नगरपालिकाले अझै प्रभावकारी काम गर्न नसकेको बताउँछन् । बैठकमा उनले गाडिएको क्षेत्रबाट पानीले बगाएर किसानको खेतबारीमा फोहोर पुगेको बताउँदै दिगो समाधानको उपाय खोज्न माग गरे ।
नगरमा बेरुजु बढेकोप्रति वडा सदस्य बस्नेतको चिन्ता देखियो । बैठकमा उनले नगरस्तरीय योजना वितरणमा विभेद भएको विषय उठाए । बस्नेतले बैठकमा आफ्नो वडामा कर्मचारी कम भएको गुनासो पनि राखे ।
वडा सदस्य गौतमकै शब्दमा भन्ने हो भने ‘लागत सहभागिताका योजनामा धनीमनी र बलिया बाङ्गाले पैसा तिर्न मान्दैनन्’ । गौतम त्यस्तालाई स्थानीय तहले उपलब्ध गराउने सेवा सुविधा रोक्नुपर्ने नीतिको खाँचो रहेको औँल्याउँछन् ।
नगर प्रमुखको जवाफ
बैठकमा नगर प्रमुख पवित्रा महतारा प्रसाईले सदस्यहरुले उठाएका प्रश्नको पालैपालो जवाफ दिइन् । तीब्र सहरीकरणको चपेटामा परेको बिर्तामोड सहर र नगरकै ग्रामीण बस्तीको विकासमा सन्तुलन मिलाउन हम्मेहम्मे परेको उनको जवाफ थियो ।
कर बढाएर मात्रै समस्याको समाधान नहुने भन्दै नगर प्रमुख प्रसाईले फोहोर व्यवस्थापनमा देखिएको गुनासो समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
कर्मचारी कम भएका वडामा तत्कालै व्यवस्थापन गर्ने नगर प्रमुखको आश्वासन छ ।कतिपयले बेरुजु बढ्नुलाई भ्रष्टाचारका रूपमा लिएको भन्दै जनस्तरमा रहेको भ्रम चिर्न जरुरी भएको नगर प्रमुख प्रसाईले बताइन् ।
कतिपय सन्दर्भमा नीतिगत समस्या देखिँदा बेरुजु आएको भन्दै नगर प्रमुख प्रसाईले त्यसलाई कम गर्दै लगिएको र यसपटक अझै कम गर्ने उल्लेख गरिन् ।
‘सरकारको नुनपानी खाएपछि कर्मचारीले पनि गतिलै काम गर्नुपर्छ’, बैठकमा नगर प्रमुख प्रसाईले भनिन्, ‘जस्टीफाई हुने गरी काम गरौँ, बेरुजु निमिट्यान्न पार्दै लानुपर्छ ।’
नगर प्रमुख प्रसाईले आगामी आर्थिक वर्षदेखि विकास निर्माणका योजनामा जनसहभागिता अनिवार्य गरिएको बताइन् । कार्यक्रममा समीक्षात्मक मन्तव्य राखेका वडा नम्बर ६ का अध्यक्ष सूर्य कन्दङबाले बिर्तामोड नगरपालिकाले विकास निर्माणका सन्दर्भमा राम्रो काम गरेको बताए ।
उनले बजेट कार्यान्वयनका लागि कर्मचारी र जनप्रतिनिधिको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए । वडाध्यक्ष कन्दङबाले स्थायी र करारका कर्मचारी बीचमा देखिएको विभेद अन्त्य हुनुपर्ने माग गरे । उनले आफूहरूका कारण बैठक ढिलो सुरु भएकोमा क्षमा पनि मागे ।


















