८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

पूर्वी नेपालका किसानले दूधको रकम भुक्तानी पाएनन् : संस्थानले १९ करोड रुपैयाँ तिर्न बाँकी



झापा-दुग्ध विकास संस्थानले लामो समयदेखि भुक्तानी नदिएपछि पूर्वी नेपालका किसान समस्यामा परेका छन् । करिब छ महिनादेखि संस्थानले किसानलाई दूध बापतको रकम भुक्तानी गरेको छैन ।

राष्ट्रिय कृषक समूह महासङ्घ इलामका संयोजक राम मगरका अनुसार वैशाख १५ यता संस्थानले दुग्ध किसानको भुक्तानी गर्न सकेको छैन । सरकारले दशैं अगावै दूधको भुक्तानी दिन निर्देशन दिएको थियो ।

महासंघका अनुसार कोशी प्रदेशका किसानले मात्रै दुग्ध विकास संस्थानबाट १९ करोड रुपैयाँभन्दा बढी भुक्तानी पाउन बाँकी छ । लामो समयदेखि भुक्तानी नपाउँदा किसान संकटमा परेकाे संयोजक मगरले बताए ।

दुग्ध विकास संस्थाले इलाममा रहेका तीनवटा चिस्यान केन्द्र बन्द गरिसकेको छ । संस्थानका अनुसार कोशी प्रदेशका जिल्लामा पाँच लाख ७५ हजार ५०४ मेट्रिक टन दूध वार्षिक रुपमा उत्पादन हुन्छ ।

समयमा भुक्तानी नपाएपछि किसानहरूले प्रमुख जिल्ला अधिकारीमार्फत कृषि तथा पशुपंक्षी विकास मन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार ००:००  ८ : १९ बजे