३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

वीरगञ्ज नाकाबाट पेट्रोलियम पदार्थको आयातमा उच्च गिरावट



वीरगञ्ज-वीरगञ्ज भन्सार नाकाबाट पेट्रोलियम पदार्थको आयातमा उच्च गिरावट आएको छ । चालु आर्थिक वर्षमा डिजेल तथा पेट्रोलको आयात २५ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको हो ।

भन्सार प्रमुख दीपक लामिछानेले गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा डिजेलको आयात २५ दशमलव ३३ प्रतिशतले घटेको बताए ।

पेट्रोलियम आयात घटेसँगै भन्सार कार्यालयको राजस्व पनि घटेको छ । राजस्वमा २७ दशमलव ४३ प्रतिशतले गिरावट आएको हाे । निर्माण कार्य घटेकाले पेट्रोलियम आयात घटेको हुनसक्ने अनुमान गरिएको छ ।

सबैभन्दा धेरै डिजेल तथा पेट्रोलियम पदार्थ भित्रिने नाकाका रूपमा रहेको वीरगञ्जबाट चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा १२ अर्ब ६६ लाख ८० हजार बराबरको १ लाख ३५ हजार ५८ किलोलिटर हाइस्पीड डिजल आयात भएको छ ।

नेपाल आयल निगम प्रादेशिक कार्यालय अमलेगञ्जका प्रमुख प्रलय शंकर आचार्यका अनुसार विद्युतीय सवारी साधनको प्रयोग बढ्दै जाँदा पेट्रोलियम आयात घट्दै गएको छ । निर्माण क्षेत्रका गतिविधि सुस्त हुँदा पनि आयात घट्ने उनले बताए ।

चालु आर्थिक वर्षको तीन महिनामा पेट्रोलको आयात पनि घटेको छ । असोज मसान्तसम्म ६ अर्ब ५८ करोड ४६ लाख ८३ हजार बराबरको पेट्रोल आयात भएको छ । अघिल्लो आर्थिक वर्षको तीन महिनाको तुलनामा पेट्रोलको आयात २२ दशमलव ५२ प्रतिशतले घटेको हो ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार ००:००  ८ : ०६ बजे