८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

सुधार केन्द्रबाट भागे सात जना दुर्व्यसनी



विराटनगर- मोरङको लेटाङमा रहेको उज्यालो जीवन प्रतिष्ठान नेपाल नामक सुधार केन्द्रबाट शुक्रबार बिहान सात जना फरार भएका छन् । दुर्व्यसनमा फसेकालाई सुधार्न केन्द्रमा राख्ने गरिएको छ ।

लेटाङ नगरपालिका–९ जाँतेमा सञ्चालन गरिएको केन्द्रबाट बिहान ६.१५ बजेतिर उनीहरु फरार भएको प्रहरीले जनाएको छ । भागेकामध्ये केहीलाई लामो समयदेखि सुधार केन्द्रमा राखिएको थियो ।

सुधार केन्द्रका सञ्चालक रेवत राईका अनुसार भागेकाहरु अहिलेसम्म फेला पार्न सकिएको छैन । अभिभावक र परिवारका सदस्यलाई जानकारी गराएर फरार भएकाहरुको खोजी तीव्र पारिएको राईले बताए ।

भागेकाको खोजीका लागि इलाका प्रहरी कार्यालय लेटाङबाट इन्सपेक्टर भीमलाल ओलीको नेतृत्वमा पनि टोली खटिएको छ । घटनाका बारेमा प्रहरीले बिहान १० बजेतिर मात्रै जानकारी पाएको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार ००:००  १ : २७ बजे