काठमाडौँ– अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका जहाजको ऋण बापतको असोज मसान्त सम्मको किस्ता नेपाल वायुसेवा निगमले तिरेको छ ।
निगमले ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको हो । जहाज खरिदका लागि निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो ।
निगमका अनुसार असोज मसान्तसम्म ६ अर्ब ३२ करोड ८५ लाख ९७ हजार ५३३ रुपैयाँ किस्ता भुक्तानी भइसकेको छ । निगमले किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन समेत कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको छ ।