११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

ज्योतिको उत्कृष्ट निवन्धलाई ७० हजार पुरस्कार



बिर्तामोड- झापाको विर्तामोड–१ स्थित निता भेटवाल स्मृति प्रतिष्ठान नेपालले ‘शान्तिका लागि बुद्धको उपदेश’ शीर्षकको निबन्ध प्रतियोगिताका विजयी प्रतियोगीलाई पुरस्कृत गरेको छ ।

प्रथम हुनेमा देवी माध्यमिक विद्यालयकी छात्रा ज्योति ढुङ्गेल, दोस्रो हुने मोहनमाया माविकी छात्रा एलिना तिम्सिना र तेस्रो हुने शनिश्चरे माविकी छात्रा सन्ध्या खतिवडा रहेका छन् ।

उत्कृष्ट हुने विद्यार्थीले प्रतिष्ठानको तर्फबाट क्रमशः ७० हजार, ५० हजार र ३० हजार नगदसहित सम्मानपत्र पाएका छन् । सान्त्वना भएकालाई सात हजारका दरले पुरस्कृत गरिएको छ ।

छात्रा निर्जला आचार्य, दीप्ति सुवेदी, तृषा सापकोटा, सुस्मिता खतिवडा, आशिका संग्रौला, छात्र सौगात खनाल र रोहन सुनुवारले नगदसहित सम्मानपत्र पाएका छन् ।

प्रतिष्ठानका अध्यक्ष उमानाथ ओलीको अध्यक्षतामा भएको समारोहका प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्की थिए ।

प्रतिष्ठानका सचिव माधव विद्रोहीले प्रतिष्ठानका संरक्षक विष्णुप्रसाद भेटवालले छोरीको अन्तिम इच्छाअनुरुप अतिविपन्न परिवारका छात्र तथा छात्राको अध्ययनमा सहयोग गर्दै आएको बताए ।

व्रेन ट्युमरका कारण २५ वर्षकै उमेरमा ज्यान गुमाएकी निताको स्मृतिमा उनका बुबा विष्णुप्रसाद र आमा विष्णुमाया भेटवालले प्रतिष्ठान स्थापना गरेका हुन् ।

समारोहमा प्रमुख अतिथि मन्त्री कार्की, अर्जुनधारा नगरपालिकाका प्रम्ख मेयर बलदेव सिंह गोम्देन तामाङ, परिवारका सदस्य अमरदीप भेटवाल लगायतले प्रतिष्ठानले उपयोगी कार्य गरेको भन्दै प्रशंसा गरेका थिए ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार ००:००  ३ : २९ बजे