धनकुटा-धनकुटा र तेह्रथुमका दुग्ध उत्पादक किसानले दूधको रकम भुक्तानी गर्न माग गरेका छन् । लामो समयदेखि भुक्तानी नपाएको जनाउँदै किसानले अविलम्ब रकम उपलब्ध गराउन सरोकारवालाको ध्यानाकर्षण गराएका हुन् ।
दुग्ध उत्पादक जिल्ला सहकारी सङ्घ धनकुटाका सचिव रोमबहादुर बाजिम्पाकले दुग्ध विकास संस्थानले नौ महिनादेखि भुक्तानी नदिएको बताए । गएको मङ्सिरदेखि किसानहरूको भुक्तानी रोकिएको हो ।
२०८१ असार मसान्तसम्म दुग्ध विकास संस्थानले धनकुटा र तेह्रथुमका १७ दुग्ध संकलक सहकारी संस्थालाई १३ करोड ९३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । झन्डै ५ हजार किसानले भुक्तानी पाएका छैनन् ।
दुग्ध विकास संस्थानबाट समयमा दूधको भुक्तानी नपाउँदा किसान पेशाबाटै विस्थापित हुनुपर्ने अवस्थामा पुगेका छन् । साउन महिनाको समेत रकम जोड्ने हो भने अझ धेरै रकम भुक्तानी गर्न बाँकी देखिएको छ ।














