बिर्तामोड-लागूऔषध गाँजासहित झापाको बुद्धशान्ति गाउँपालिकाबाट एकजना महिला पक्राउ परेकी छन् । प्रहरीले शनिबार राति छापा मारेर बुद्धशान्ति गाउँपालिका ३ घर भएकी २९ वर्षीया दुर्गा धिमाललाई नियन्त्रणमा लिएको हाे ।
गाँजाको कारोबार भइरहेको सूचनाका आधारमा राति साढे ११ बजे प्रहरी टोली धिमालको घरमा पुगेको थियो । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले तयारी अवस्थाको चार केजी गाँजा बरामद गरेको छ ।
गाजासँगै प्रहरीले ३ लाख ६ हजार ८७० नेपाली रुपैयाँ पनि बरामद गरेको छ । धिमाललाई इलाका प्रहरी कार्यालय धुलाबारीको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ ।
















