झापा-प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा दुई तिहाई सांसदको समर्थन प्राप्त गरेका छन् । संसदका २७५ सदस्यमध्ये प्रधानमन्त्री ओलीको पक्षमा १८८ सांसदले मतदान गरेका हुन् ।
नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता साझेदारी सहमतिपछि नेकपा एमालेका अध्यक्ष ओली एक साताअघि असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार प्रधानमन्त्री ओलीले आइतबार संसदबाट विश्वासको मत लिएका हुन् ।
प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरेका छन् । विपक्षमा ७४ मत परेको छ भने एउटा मत तटस्थ रहेको छ । संसदमा आइतबार २६३ जना सांसद उपस्थित थिए ।
प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले मत दिएका छन् ।
एमालेसँगको सत्ता समीकरण टुटेपछि नेकपा माओवादी केन्द्र विपक्षमा उभिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादी पनि विपक्षी मोर्चामा खडा भएका छन् ।