काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँले कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीमाथि अनुसन्धान सकेर शुक्रबार प्रतिवेदन बुझाएको छ । परिसरले जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो ।
प्रहरीले पूर्वमन्त्री अधिकारीसहित पक्राउ परेकाहरू माथि तीनवटा कसुरमा मुद्दा चलाउनुपर्ने राय पेश गरेको छ । मानव तस्करी प्रकरणमा मुछिएपछि पूर्वमन्त्री अधिकारीलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको थियो ।
पक्राउ परेका नौ जना र फरार भएका तीन जना गरी १२ जनालाई तीनवटा कसुरमा मुद्दा चलाउन प्रहरीले राय दिएको हो ।
प्रहरीले मानव बेचबिखन तथा ओसारपसार, सरकारी कागजात किर्ते र ठगी सम्बन्धी कसुरमा मुद्दा चलाउनु पर्ने जिकिर गरेको छ ।
प्रहरीसँगको बयानका क्रममा पूर्वमन्त्री अधिकारीले आफ्नो संलग्नता नरहेको र आफू उनीहरूको षड्यन्त्रमा फसेको बताएका छन् ।
प्रहरीले भने अधिकारीको प्रत्यक्ष संलग्नता नदेखिए पनि नियम पालना नगरेको र गैरकानुनी रुपमा जापान गएकाले मुद्दा चलाउनुपर्ने बताएको छ ।