७ भाद्र २०८३, आइतबार | Mon Aug 24 2026

हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकामध्ये चार जना चिनियाँ नागरिक



काठमाडौँ- एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकामध्ये चार जना चिनियाँ नागरिक भएको खुलेको छ । नुवाकोटको शिवपुरी–७ स्थित सूर्यचौर डाँडामा ठोक्किएर बुधवार दिउँसो हेलिकोप्टर दुर्घटना भएको हो । हेलिकप्टर काठमाडौंबाट १ बजेर ५४ मिनेटमा उडेको थियो ।

नुवाकोटका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले शिवपुरी ७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार क्याप्टेन अरुण मल्लले हेलिकप्टर उडाइरहेका थिए । काठमाडौंबाट उडेको तीन मिनेटपछि नै टावरसँग सम्पर्कविच्छेद भएको थियो ।

दुर्घटनामा क्याप्टेन मल्लसहित पाँच जनाको मृत्यु भएको छ । विमानस्थल कार्यालयका अनुसार हेलिकप्टरमा चार जना चिनियाँ पर्यटक सवार थिए । दुर्घटनास्थलबाट एक महिला र चार पुरुषको शव निकालिएको प्रहरीले जनाएको छ ।

हेलिकप्टरमा चिनियाँ नागरिकहरू जुदाड टाङ, जिली, यियाद वु र जेमिङ सी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

दुर्घटनामा ज्यान गुमाउने चार चिनियाँ एकै परिवारको भएको जनाइएको छ । नुवाकोटको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले दुर्घटनामा ज्यान गुमाएका चिनियाँ एकै परिवारको हुनसक्ने आशंका गरिएको जनाए ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार ००:००  ४ : १० बजे