झापा-सरकारले सुरक्षा निकायका लागि हातहतियार किन्ने तयारी गरेको छ । राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा हतियार किन्ने विषयमा छलफल भएको थियो ।
कार्तिक ११ गते बसेको मन्त्रिपरिषद् बैठकले हतियार किन्ने निर्णय गरेको हो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका लागि हतियार किन्ने तयारी भइरहेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद्को ३५ औँ बैठकले नेपाली सेनाका लागि हतियार खरिद गर्ने निर्णय गरेको थियो । त्यसलाई मन्त्रिपरिषद्ले पास गरेको हो ।
प्रहरीका एक उच्च अधिकारीले सेनालाई मात्र नभएर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका लागि समेत सरकारले हतियार खरिद गर्न अनुमति दिने बताएका छन् ।
नेपाल प्रहरीले निर्वाचनताका नेपाली सेनासँग हतियार मागेर काम चलाउनुपरेको विवरणसहित खरिद प्रस्ताव तयार गरिसकेको छ ।