११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

बिर्तामोडका अनलाइन सञ्चालकले नगरपालिकामा बुझाए ज्ञापन : लोक कल्याणकारी सूचनाको रकम बढाउन माग



बिर्तामोड-बिर्तामोडबाट सञ्चालित अनलाइनले लोक कल्याणकारी सूचनाको रकम वृद्धि गर्नुपर्ने माग गर्दै बिर्तामोड नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।

अनलाइनका सञ्चालकहरूले मङ्गलबार नगर प्रमुख पवित्रा महतारा प्रसाई र प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईलाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।

लोक कल्याणकारी सूचनाको रकम वृद्धिको माग राखेर अनलाइन सञ्चालकका तर्फबाट नगरपालिकालाई दोस्रोपटक ज्ञापनपत्र बुझाइएको साझा मञ्चका सम्पादक गोपाल काफ्लेले बताए ।

यसअघि गतवर्ष पनि रकम वृद्धिको माग राखेर बिर्तामोडमा रहेका अनलाइन सञ्चालकले नगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्रमा लोक कल्याणकारी सूचना तथा विज्ञापन बापत प्रति अनलाइन १ लाख रुपैयाँ वार्षिक रुपमा उपलब्ध गराउन माग गरिएको छ ।

नगरपालिकाबाट जारी हुने सूचना तथा विज्ञापन सशुल्क रुपमा अनलाइनलाई समेत उपलब्ध गराउन सञ्चालकहरूले नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।

लोक कल्याणकारी सूचना वा विज्ञापन छुट्याएर मात्र पठाउन पनि ध्यानाकर्षण गराइएको छ । स्थानीय अनलाइनलाई चरालाई चारो छरे जसरी लोक कल्याणकारी रकम उपलब्ध गराउने तर जिल्ला बाहिरका सञ्चारमाध्यमलाई पोस्ने प्रवृत्ति रोक्न सञ्चालकहरुले माग गरेका छन् ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार ००:००  २ : ३२ बजे