बिर्तामोड-पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका-२ पवित्रा पेट्रोल पम्प नजिक सोमबारराति यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बिराटनगरबाट काँकडभिट्टातर्फ आउँदै गरेको प्रदेश १-०१-००१ ख ३४२३ नम्बरको बसले बिर्तामोडबाट सुरुङगातर्फ जाँदै गरेको को १९ प ६२८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक झापाको कमल गाउँपालिका-५ का ४१ वर्षीय लक्ष्मीप्रसाद सुब्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार उपचारका क्रममा सुब्बाले ज्यान गुमाएका हुन् ।
प्रहरीका अनुसार उक्त बस कन्डक्टरले चलाएका थिए । घटनापछि बसका कन्डक्टर झापाको शिवसताक्षी-६ का पूण्यप्रसाद सिटौला फरार भएका छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।
पूर्व आउँदै गरेको उक्त बसले मोरङको बेलबारीमा पनि सोमबार अपराह्न एउटा मोटरसाइकललाई ठक्कर दिएको थियो । घटनापछि बसका चालक इलाम माई नगरपालिका-८ का सागर थुलुङ राई मोटरसाइकल पक्षसँग छलफल गर्नुपर्ने भएकाले त्यही उत्रिएका थिए ।
चालक राई बेलबारीमा बसेपछि बसका कन्डक्टर सिटौलाले बस चलाएको खुलेको हो । घटनापछि प्रहरीले बसका सहचालक मोरङको विराटनगर घर भएका १९ वर्षीय दीपेश दर्जीलाई पक्राउ गरेको छ । चालक राई पनि प्रहरी नियन्त्रणमा छन् ।














