बिर्तामोड-अखिल नेपाल महिला सङ्घ झापाले राजनीतिमा सक्रिय महिलाहरूविरुद्ध चारित्रिक अभियोग लाग्ने गरी मेडिकल व्यवसायी दुर्गा प्रसाईले दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएको छ ।
संघले आइतबार पत्रकार सम्मेलन गरी राजनीतिमा लागेका महिलालाई गलत नजरले हेर्ने, अपमानजनक व्यवहार र टिप्पणी गर्ने मेडिकल व्यवसायी प्रसाईको रवैया खेदजनक भएको जनाउँदै उनको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेको हो ।
महिलाविरुद्ध प्रसाईले दिएका अभिव्यक्तिको तथ्य संकलन गरेर उनलाई कानुनी कठघरामा उभ्याउने चेतावनी दिँदै संघले यस किसिमका अराजक, अश्लिल र अभद्र अभिव्यक्ति अविलम्व रोकिनुपर्ने जनाएको छ ।
संघकी केन्द्रीय उपाध्यक्ष मेनुका काफ्लेले प्रसाई लगायत महिला हिंसामा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याउन संघले सङ्घर्ष गर्ने बताउँदै पहिलो चरणमा प्रमुख जिल्ला अधिकारीमार्फत स्थानीय प्रशासनको ध्यानाकर्षण गराउने बताइन् ।
अखिल नेपाल महिला सङ्घ झापाकी अध्यक्ष पवित्रा पाठकले विभिन्न माध्यममार्फत प्रसाईले महिला हिंसा हुने गरी आफ्ना अभिव्यक्ति दिइरहेकाले चरणबद्ध रुपमा संघर्ष गर्ने बताइन् । सङ्घले सार्वजनिक रूपमा विरोध प्रदर्शन गर्ने तयारी गरिरहेको पनि अध्यक्ष पाठकले जानकारी दिइन् ।