झापा- राष्ट्रिय सहकारी बैंकले संरक्षित पूँजी फिर्ता कोषबाट सदस्य संस्थालाई करिव चार करोड रुपैयाँ वितरण गरेको छ । सोमबार बैँकले संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यले पाउने रकम बाँडफाँड गरेको हो ।
संरक्षित पूँजी फिर्ता कोषबाट एउटै सदस्य संस्थाले नौ लाख भन्दाबढी रकम प्राप्त गरेको बैँकले जनाएको छ। बचत र कर्जा कारोबार गर्ने १६ हजार भन्दाबढी सहकारी संस्था संरक्षित पूँजी फिर्ता कोषबाट लाभान्वित भएका छन् ।
सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुरूप बैंकमा सदस्य संस्थाले जम्मा गरेको बचत रकमको लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजका लागि ६० प्रतिशत भारको आधारमा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँड हुन्छ ।
संरक्षित पूँजी फिर्ता कोषबाट तीन करोड ८३ लाख २० हजार २ सय ९५ रुपैँया रकम सदस्य संस्थाको खातामा पठाइएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाँईले बताए । हाल बैंकमा १६ हजार ३ सय ३० सदस्य सहकारी संस्था रहेका छन् ।