दमक-झापाको दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुका लागि एकीकृत वस्ती निर्माण सम्बन्धी दोस्रो योजना अगाडि सारेको छ ।
सदस्यहरूको माग र आवश्यकताका आधारमा क्षेत्र छनोट गरी एकीकृत बस्ती निर्माण गर्ने योजना रहेको मेची सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले बताए ।
यसअघि मेची सहकारीले दमकमा करिव २३ करोड रुपैयाँको लगानीमा एउटै प्रकृतिको ५० वटा घर निर्माण गरी आफ्ना सदस्यलाई हस्तान्तरण गरेको थियो ।
मेची सहकारीका कार्यकारी प्रमुख खाेमप्रसाद बगालेका अनुसार बजार मूल्यभन्दा करिब ४० प्रतिशत कममा सदस्यले एकीकृत बस्तीमा निर्माण गरिएका घर पाएका थिए ।
यस अघिको मोडल र अवधारणामा आवास निर्माणको दोस्रो परियोजना अगाडि बढाउन लागिएको बगालेले बताए । ‘कुन क्षेत्रलाई प्राथमिकता दिने भन्नेमा छलफल हुन बाँकी छ’, बगालेले भने ।
चालु आर्थिक वर्षमा आवास निर्माणसम्बन्धी दोस्रो परियोजनाका लागि मेची सहकारीले ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सहकारीले बिर्तामोड क्षेत्रमा आवास निर्माणको योजनालाई प्राथमिकतामा राखेको छ ।

















