काठमाडौँ- विद्युत् अवरुद्ध भएपछि चन्द्रागिरि केबलकारमा यात्रु अड्किएका छन् । वैकल्पिक उपायबाट यात्रुको उद्धार गर्ने तयारी भइरहेको छ । कति यात्रु अड्किएका छन् भन्ने विषयमा खुलेको छैन् ।
केबलकारको डिब्बामा अड्किएका यात्रुलाई हातैले डोरी तानेर तल्लो स्टेसनमा झार्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । उद्धारका लागि सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले पशुपतिनाथ बाहिनीबाट ११ जनाको सशस्त्र प्रहरीको टोली चन्द्रागिरितर्फ गएको बताएका छन् ।
प्रहरीका अनुसार साढे एक बजेतिरबाट विद्युत सेवा अवरुद्ध हुँदा यात्रु डिब्बामै अड्किएका हुन् ।अवरुद्ध विद्युत सेवा सञ्चलानमा आउन समय लाग्ने जनाइएको छ ।
केबलकारमा अड्किएका यात्रुको उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोली घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।