खोटाङ-पूर्वी पहाडी जिल्ला खोटाङमा गत आर्थिक वर्षमा १६८ मेट्रिक टन लिच्ची उत्पादन भएको छ । स्थानीय किसानले गरेको व्यवसायिक खेतीबाट सो परिमाणको उत्पादन निस्किएको हो ।
कृषि ज्ञान केन्द्र खोटाङका अनुसार जिल्लाको ३१ हेक्टर क्षेत्रफलमा किसानले लिच्ची लगाएका छन् । गतवर्ष ३० हेक्टरमा १५३ मेट्रिक टन लिच्ची उत्पादन भएको थियो ।
कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले लिच्ची उत्पादनबाट खोटाङका किसानले राम्रो आम्दामी गर्दै आएको बताए । उनले उत्पादन बढाउन स्थानीय प्रदेश र सङ्घीय सरकारले किसानहरूलाई सहयोग गर्नुपर्ने खाँचो औँल्याए ।
ज्ञान केन्द्रका अनुसार सबैभन्दा धेरै लिच्ची रावावेसीमा उत्पादन भएको छ । अधिकृत पण्डितका अनुसार त्यहाँका किसानले ७४ मेट्रिक टन लिच्ची फलाएका छन् ।
















