१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

दुधे मिनी मेलाको आयव्यय सार्वजनिक : नाफाको आधा रकम सार्वजनिक शौचालय निर्माणमा खर्च गरिने



सतासीधाम-दूधे बजार व्यवस्थापन समितिले मिनी मेलाबाट भएको आम्दानी सार्वजनिक शौचालय निर्माणमा खर्च गर्ने भएको छ । मिनी मेलाको आयव्यय विवरण सार्वजनिक गर्दै समितिले आम्दानीको आधा हिस्सा सार्वजनिक शौचालय निर्माणमा खर्च गरिने जनाएको हो ।

दुधे बजार व्यवस्थापन समितिका अध्यक्ष सन्तोष थोप्राले मिनी मेलाबाट १६ लाख आम्दानी भएको बताए । विभिन्न शीर्षकमा ६ लाख खर्च भएको छ । खर्च कटाएर १० लाख खुद नाफा कमाएको समितिले त्यसको आधा रकम शौचालय निर्माणमा खर्च गर्न लागेको हो ।

असोज १८ गतेदेखि २९ गतेसम्म दुधे बजारको हाटबजार लाग्ने स्थानमा मिनी मेला आयोजना गरिएको थियो । समितिका अध्यक्ष थोप्राले दुधे बजारमा शौचालय निर्माणका लागि ५ लाख रकम छुट्याइएको बताए ।

समितिले हाटबजारभित्र जीर्ण अवस्थामा रहेको राम मन्दिर पुनर्निर्माणका लागि समेत १ लाख रुपैयाँ खर्च गर्ने भएको छ । बिहीबारे हाटमा बस्नका लागि स्टीलको कुर्सी व्यवस्थापन गर्न ६० हजार रकम छुट्याइएको छ ।

बजार भित्रको सडक बत्ती महसुल मर्मत र खरिदमा समितिले २ लाख ५० हजार रूपैयाँ खर्च गर्ने निर्णय गरेको अध्यक्ष थोप्राले जानकारी दिए ।

समितिले मिनी मेलाका साथै दुर्गा पूजाको समेत आयोजना गरेको थियो । दुर्गा पूजाबाट खर्च कटाएर ६ हजार चार सय रुपैयाँ बचत भएको समितिका कोषाध्यक्ष मुना बिमलीले बताइन् ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार ००:००  ८ : १२ बजे