२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

गिरीबन्धु टी स्टेटमा बम राखेर फरार भएका दुई अभियुक्त अढाई महिनापछि पक्राउ



बिर्तामोड-झापाको बिर्तामोड-६ स्थित गिरीबन्धु टी स्टेटको पश्चिम पर्खालमा विस्फोटक पदार्थ राखेर आतंक मच्चाएको अभियोगमा प्रहरीले दुई अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका-९ मधुमल्ला घर भएका ३६ वर्षीय राजकुमार माझी र कानेपोखरी गाउँपालिका वडा नम्बर-६ शिवालय टोल घर भएका धीरज माझी रहेका छन् ।

गत भदौ २८ गते टी स्टेटमा विस्फोटक पदार्थ राखेर उनीहरू फरार भएको जनाउँदै प्रहरीले खोजी अभियान सुरु गरेको थियो । घटनास्थलमा उनीहरूले नेकपा माओवादी पूर्व केन्द्रीय कमाण्डका नाममा गिरीबन्धु टी स्टेटको जग्गा कब्जा किन लेखिएको पर्चा छोडेका थिए ।

सूक्ष्म अनुसन्धानका क्रममा उनीहरूको संलग्नता पुष्टि भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले पक्राउ परेका अभियुक्तमाथि अनुसन्धान सुरु गरिएको बताए ।

फरार यी दुई अभियुक्तलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको हो । उनीहरू उपर अदालतबाट तीन दिन म्याद थप गरी विस्फोटक पदार्थ सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार ००:००  ८ : ४६ बजे