बिर्तामोड– सरकारले झापाको बीएण्डसी अस्पताललाई विपन्न लक्षित डायलासिस सेवा निःशुल्क सञ्चालनका लागि अनुमति दिएको छ ।
स्वास्थ्य सेवा विभागले मृगौला रोगीका लागि डायलासिस सेवा निःशुल्क उपलब्ध गराउन अनुमति दिएको हो ।डायलासिस गर्नैपर्ने बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएपछि विभागले निःशुल्क सेवा सञ्चालनका लागि अनुमति दिएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले तत्काल पाँचवटा मेसिनबाट डायलासिस सेवा निःशुल्क रुपमा उपलब्ध गराउन थालिएको बताए ।
स्वास्थ्य सेवा विभागकाे विपन्न नागरिक उपचार कोष अन्तर्गत बीएण्डसी अस्पतालले डायलाइसिस सेवा निशुल्क सञ्चालनको अनुमति पाएको हो ।
मृगौला पीडित बिरामीको स्थायी ठेगानाका आधारमा स्थानीय तहले उपलब्ध गराउने सिफारिसपछि सेवा निःशुल्क उपलब्ध हुने जनसम्पर्क अधिकारी गिरीले जानकारी दिए ।


















