१ असार २०८२, आइतबार | Sun Jun 15 2025

माेरङकाे पथरीमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु



विराटनगर : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका–२ सुनझोडा पुलमा टिपरको ठक्करबाट शनिबार दिउँसो दुई जनाको मृत्यु भएको छ ।

मिक्स गिट्टी बोकेको बागमती प्रदेश ०३–००१ ख २९२८ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले बताए ।

उनका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको टिपरले पूर्वतर्फ जाँदै गरेको २० प ६०७ नम्बरको मोटरसाइकललाई दिउँसो २:३० बजेतिर ठक्कर दिएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक पथरीशनिश्चरे–७ का १८ वर्षीय निश्चल आङदम्बे र पछाडि सवार पथरीशनिश्चरे–२ का ४८ वर्षीय प्रितम गौतमको मृत्यु भएको डीएसपी दाहालले बताए ।

गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लगिएको थियो ।

उपचारका क्रममा दिउँसो ३:२० बजेतिर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जना मृतकको शरीरका विभिन्न भागमा चोट लागेको छ ।

दुर्घटनालगत्तै प्रहरीले मोटरसाइकल, टिपर र टिपर चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का ३५ वर्षीय सुरेश राईलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार मोटरसाइकल क्षतिग्रस्त अवस्थामा छ ।

उक्त टिपर निर्माणाधीन पूर्व–पश्चिम राजमार्गमा निर्माण सामग्री ओसारपसारका लागि प्रयोग गरेको पत्ता लागेको प्रहरीको भनाइ छ ।

टिपरको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाको थप अनुसन्धान भइरहेको जानकारी डीएसपी दाहालले दिए।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार ००:००  ५ : १२ बजे