बिर्तामोड-बिर्तामोड उद्योग वाणिज्य सङ्घ अन्तर्गतको महिला उद्यमी समूहले तीज विशेष कार्यक्रम आयोजना गरेको छ । मङ्गलबार वाणिज्य सङ्घ परिसरमा समूहले तीज मिलन कार्यक्रम आयोजना गरेको हो ।
झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाको प्रमुख आतिथ्यमा आयोजना गरिएको तीज विशेष कार्यक्रममा अधिकारकर्मीसहित दुई जनालाई सम्मान गरिएको छ ।
महिला उद्यमी समूहकी अध्यक्ष राधिका चुडालको अध्यक्षतामा आयोजित कार्यक्रममा अधिवक्ता लक्ष्मी खनाल र शर्मिला अधिकारी सम्मानित भएका हुन् ।

खनाललाई नारी सम्मान र अधिकारीलाई युवा महिला प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । भर्खरै महिला उद्यमी समूहको नेतृत्व सम्हालेकी चुडालको अग्रसरतामा तीज विशेष कार्यक्रम आयोजना भएको हो ।

कार्यक्रममा महिलाहरूलाई सामूहिक रूपमा दरसमेत खुवाइएको छ । महिला उद्यमी समूहकी महासचिव लीला अनमोलले सञ्चालन गरेको कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपाने लगायतको आतिथ्य थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, संघका निवर्तमान अध्यक्ष प्रकाश शिवाकोटी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ, नेपाल अलैची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई, सामाजिक तथा राजनीतिक व्यक्तित्व पार्वता गिरी लिला मैनाली लगायतको आतिथ्य रहेको थियो ।