मोरङ-नेपाल भारत सीमा नजिक मृत भेटिएकी युवतीका साथमा लागूऔषध फेला परेको मोरङ प्रहरीले जनाएको छ । पहिचान खुल्न नसकेकी ती युवती विराटनगर महानगरपालिका-१६ हुलास चोक नजिक सडकमा सोमबार दिउँसो मृत फेला परेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक हेमराज ओलीले मृतक युवतीकाे भित्री वस्त्रमा २२ एम्पुल लागूऔषध फेला परेको बताए । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार मृतक युवतीका साथमा एभिल, डाइजीपाम र नोरजेसिक फेला परेको हो ।
भारतको जोगबनीबाट लागूऔषध सेवन गरेर फर्किएकी युवतीले साथमा पनि लिएर आएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । ओभरडोजका कारण युवतीको मृत्यु भएको हुनसक्ने प्रहरीले बताएको हो ।














