पोखरा– सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउनु दुःखको कुरा भएको बताउनुभएको छ ।
पोखरामा शनिबारदेखि सुरु भएको २६ औँ सडक महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका सम्बन्धमा सरकारले २० बुँदे कार्ययोजना पारित गरेको २–३ महिना हुँदा पनि ती बुँदा कार्यान्वयन नभएको भन्दै आलोचना गर्नुभयो ।
२० बुँदे कार्ययोजना पारित भएको यति लामो समय हुँदा पनि कार्यान्वयन नभएकोमा आपत्ति प्रकट गर्दै मन्त्री गुरुङले त्यसको कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काम गर्नुपर्ने बताउनुभयो ।
गुरुङले अन्तर्राष्ट्रिय उडान सञ्चालनका सन्दर्भमा स्वास्थ्य परीक्षण, ‘भिसा’ अनुमति, सामान आयात–निर्यातका लागि भन्सारलगायत सम्बन्धित कामहरू सम्बन्धित अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुनुपर्नेमा जोड दिनुभयो ।
पोखराबाट अन्तर्राष्ट्रिय उडानका साथै अन्य ६ वटा प्रदेशलाई हवाई सञ्जालमा जोड्नु पर्ने गुरुङले बताउनुभयो । यो गर्न सक्दा पोखरालाई पर्यटन, शिक्षा र स्वास्थ्यको हब बनाउन सकिने उहाँको धारणा छ ।