झापा-राजसंस्था पुनस्थापनाको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले फेरि एकपटक आन्दोलन चर्काउने भएको छ । काठमाडौँ केन्द्रित आन्दोलनको तयारीका लागि सबै जिल्ला कार्यसमितिलाई राप्रपाले निर्देशन दिएको हो ।
आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शमशेर राणाले जिल्ला कार्य समितिलाई पत्र लेख्दै आवश्यक तयारी र व्यवस्थापनमा जुट्न निर्देशन दिएका छन् । यस विषयमा नेता कार्यकर्तालाई प्रशिक्षण समेत दिइएको छ ।
जिल्ला तहमा आन्दोलन केन्द्रित प्रशिक्षण सञ्चालन गर्न केन्द्रीय प्रशिक्षकहरू पठाउने तयारी राप्रपाले गरेको छ । प्रशिक्षणमा प्रत्येक वडाबाट कम्तीमा तीनजना र बढीमा सकेजति जुझारु व्यक्तिहरु सहभागी गराउन पनि संयोजक राणाले निर्देशन दिएका छन् ।
तिहार र छठ लगत्तै काठमाडौँ केन्द्रित आन्दोलन आरम्भ गरिने संयोजक राणाले बताए । उनका अनुसार यसअघि असोज ८ गते आन्दोलनमा सहभागी हुने नेता कार्यकर्ताका लागि राजनीतिक परिचालन र व्यवस्थापनका प्राविधिक विषयहरूमा प्रशिक्षण दिइएको थियो ।
राप्रपाले राजसंस्था, सनातन हिन्दु राज्य, प्रदेश खारेजी, भ्रष्टाचारको अन्त्य लगायतका ४० बुँदे माग राखेर नविन समझदारीको प्रस्तावनासहित सडक संघर्ष जारी राख्दै आएको छ ।
