८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

लोकगायक एलपी जोशीको निधन



झापा–लोकगायक एलपी जोशीको निधन भएको छ । बिहीवार साँझ साढे आठ बजे झापाको दमकस्थित लाइफलाइन अस्पतालमा लोक सम्राट जोशीको ८८ वर्षको उमेरमा निधन भएको हो ।

साहित्य चौतारी झापाका संस्थापक संरक्षक एवम् अध्यक्ष देवीभक्त श्रेष्ठले जोशीको निधन भएको पुष्टि गरेका हुन् । दमक–१ स्थित आफ्नै निवासमा बिहीबार साँझ बेहोस भएका जोशीलाई अस्पताल लगिएको थियो ।

साताअघि असार ३१ गते साहित्य चौतारी झापाले रजत वर्ष महाअभियानको अवसरमा लोक सम्राट जोशीलाई रथारोहणसहित नागरिक अभिनन्दन गरेको थियो । कालजयी स्वरका धनी जोशीका सयौँ गीत नेपाली जनमानसमा लोकप्रिय छन् ।

गायक जोशीका ‘रिटिङ रिटिङ नबजाउ बिनायो’, ‘ओल्लो खोलो पल्लो खोलो’ लगायतका दर्जनौँ गीतहरु चर्चित छन् ।

१९९३ सालमा धनकुटा बजारमा जन्मिएका जोशीलाई जनस्तरबाट लोक सम्राटको उपाधि दिइएको थियो । गाउँबेसीका भाका टिपेर लय मिलाउन सक्ने उनको अदभूत क्षमता नयाँ पुस्ताका लागि पनि प्रेरणादायी छ ।

पूर्वेली लोक भाकामा गीत गाउँदै आएका जोशीको ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’ गीत २०१७ सालमा रेकर्ड भएको थियो । चित्रकार र अभिनेता समेत रहेका जोशीले चलचित्र ‘हिजो आज भोलि’मा पनि अभिनय गरेका छन् ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार ००:००  १० : ०५ बजे