झापा-कोशी प्रदेशका २ लाख ६५ हजार किशोरीलाई एचपीभी खोप लगाउने तयारी गरिएको छ । किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन लागिएको हो ।
स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइनेछ ।
आगामी माघ २३ गतेदेखि सबै खोप केन्द्रबाट खोप सञ्चालन हुने खोप अधिकृत भरत भण्डारीले बताए । खोप सञ्चालन अघि दुई समूहमा राखेर प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।
आगामी माघ ३ गतेभित्र जिल्ला स्वास्थ्य कार्यालय मार्फत सबै वडा र स्थानीय तहका स्वास्थ्यकर्मीलाई बोलाएर खोप केन्द्र निर्धारण गरिने जनाइएको छ ।
माघ १० गतेभित्र सबै जिल्लामा खोप पुर्याइ सकिने खोप अधिकृत भण्डारीले बताए । हाल झापा, मोरङ, सुनसरी र धनकुटामा आवश्यक प्रचार सामग्री समेत लगिएको छ ।


















