१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

पर्यटकीयस्थल सताक्षीधाममा ८७ धारा




शिवसताक्षी- झापाको ऐतिहासिक तथा धार्मिक पर्यटकीयस्थल सताक्षीधाममा नवनिर्मित ८७ धाराको बिहीवार उद्घाटन गरिएको छ ।

पौराणिक कथासँग जोडिएको ऐतिहासिक क्षेत्र सताक्षीधाममा जनस्तरबाट निर्मित ८७ धाराको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नु भएको हो ।

सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिले दिगम्बेशर शिवालयको पूर्व सतासी खोलाको तटमा ८७ ओटा धारा बनाएको छ । पौराणिक कथासँग जोडिएको यो धामको वास्तविक नाम शताक्षी हो ।

“शताक्षी“ शब्दको अर्थ हुन्छ सय आँखा भएकी देवी । शताक्षीको व्याख्या विभिन्न धार्मिक र सांस्कृतिक सन्दर्भमा जोडिएर आउने श्री सताक्षी गोवर्धन गौशालाका अध्यक्ष तथा संरक्षक आचार्य नन्दकिशोर भारद्वजले बताए ।

नव निर्मित धारालाई मुक्तिनाथमा भएको १०८ धारा पछिको दोस्रो धारा भएको बताइएको छ । सताक्षीधाममा आउने भक्तजनहरुले ८७ धारामा स्नान गरेर मन्दिरमा पुजा गर्ने छन् ।

यसैबीच सताक्षीधाममा अतिथि गृहको पनि शिल्यान्यस गरिएको छ । उक्त अतिथि गृह तीन तल्लाको हुने धार्मिक तथा पर्यटन विकास समितिले जनाएको छ ।

भवन निर्माण गर्नका लागि प्रदेश सरकारको सहयोग रहने मुख्यमन्त्री कार्कीले बताए । यस्तै गोवर्धन गौशालाका संरक्षक भारद्वाजले अतिथि गृह निर्माण गर्न १० लाख दिने घोषणा गरेका छन् ।

अतिथि गृह तीन तलाको ५१ कोठाको हुने भवन स्थानीय तह, प्रदेश सरकार र दाताहरूको सहयोग लिएर निर्माण गरिने धार्मिक तथा पर्यटन विकास समितिले जनाएको छ ।

कार्यक्रममा प्रदेश सांसद राधाकृष्ण खनाल, पूर्व सांसद तारासम योङ्या, नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की लगायत जनप्रतिनिधिहरु, राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष तुला बोखिमको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष उदयप्रकाश राईले स्वागत गरेका थिए भने संस्थाका सचिव कालीप्रसाद रिजालले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार ००:००  ११ : ०६ बजे