बिर्तामोड-राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीले सञ्चालक समिति र लेखा समितिले सहकारी संस्थाबाट ऋण लिन नहुने बताउनु भएको छ ।
बचत तथा ऋण सहकारी सङ्घ लि. झापाको १३ औँ वार्षिक साधारण सभालाई शनिबार दुर्गापुरमा सम्बोधन गर्दै अध्यक्ष गिरीले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
अध्यक्ष गिरीले सञ्चालक समिति र लेखा समितिले ऋण नलिने हो भने सहकारीको ८० प्रतिशत समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
सञ्चालकका कारण झापाका केही सहकारीहरू अप्ठ्यारोमा परेको अध्यक्ष गिरीको धारणा छ । अध्यक्ष गिरीले सरकारले ल्याएको अध्यादेशलाई सुधार गर्न सडकदेखि सदनसम्म आवाज उठिरहेको बताउनु भयो ।
जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी सङ्घका लेखा सुपरीवेक्षण समितिका संयोजक चुडामणि ओझा, बिर्तामोड नगरपालिका सहकारी विभाग प्रमुख मोहन सुवेदी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा बचततर्फ उत्कृष्ट कारोबार गर्ने झापा गाउँपालिकाको पाथिभरा बचत तथा ऋण सहकारी संस्था र कर्जातर्फ बिर्तामोड ४ को जनशक्ति बचत तथा ऋण सहकारी संस्थालाई पुरस्कृत गरिएको छ ।
कार्यक्रममा अध्यक्ष गिरी, बचत तथा ऋण सहकारी संघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष चन्द्रा खड्का र कोषाध्यक्ष विश्वेश्वर प्रसाद भट्टराईलाई सम्मान गरिएको छ ।
कार्यक्रममा बीपी भट्टराईले लेखेको सामान्य सहकारी नामक पुस्तक विमोचन गरिएको छ । पुस्तकमाथि लेखक तथा पत्रकार सन्तोष आचार्यले टिप्पणी गरेका छन् ।
संघका वरिष्ठ उपाध्यक्ष उपेन्द्र ओलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव यामकुमार चुडालले गरेका थिए ।