कञ्चनपुर-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध लड्ने एकमात्र राजनीतिक शक्तिका रूपमा आफ्नो पार्टी अगाडि बढेको बताएका छन् ।
कञ्चनपुरको पुनर्वासमा शनिबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले आफ्नो दल पहिलो पार्टी भए मात्र भ्रष्टाचारका सबै फाइल खोल्ने बताए ।
पार्टी एकता समायोजन सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले माओवादीलाई पहिलो दल बनाउन जनतालाई सार्वजनिकरुपमा अपिल पनि गरेका छन् ।
अध्यक्ष प्रचण्डले वर्तमान सरकारले भ्रष्टाचारलाई ढाकछोप गरिरहेको बताउँदै त्यसविरुद्ध माओवादी सशक्त रुपमा प्रस्तुत हुने बताए ।
अध्यक्ष प्रचण्डले माओवादी बलियो राष्ट्रिय शक्ति भएको दिन देशमा सुशासनको युग सुरु हुने समेत जिकिर गरेका छन् ।