बिर्तामोड-वीरता लेडी जेसीजले झापाको बिर्तामोडमा ‘सहारा साहित्य साँझ’ आयोजना गर्ने भएको छ । मंगलवार सचिवालयमा पत्रकार सम्मेलन गरी लेडी जेसीजले कार्यक्रमको तयारी र व्यवस्थापनबारे जानकारी दिएको हो ।
मङ्सिर २१ गते दिउँसो ३ बजेदेखि इन्द्रेणी व्याङक्वेटमा कार्यक्रम आयोजना गरिएको वीरता लेडी जेसीज सन् २०२४ की अध्यक्ष मेनुका ओलीले बताइन् । ‘लेडी जेसीजले नयाँ र फरक ढंगले यसपटक कार्यक्रम आयोजना गरेको छ’, पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले भनिन् ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आर्थिक सहयोगमा लेडी जेसीजले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम दुई भागमा विभाजित छ । पहिलो भागमा प्यानल डिस्कसन राखिएको छ । साहित्यकार तथा सञ्चारकर्मी लीला अनमोलले त्यसको सहजीकरण गर्ने छिन् ।
प्यानल डिस्कसनको विषय ‘यौन मनोविज्ञान र प्रेम राखिएको छ । डिस्कसनमा साहित्यकार मनु मञ्जिल, मुनाराज शेर्मा र मिश्र वैजयन्ति सहभागी हुनेछन् । दोस्रो सत्रमा गजलवाचन कार्यक्रम राखिएको अध्यक्ष ओलीले जानकारी दिइन् ।
‘गजलकार सिन्धु निरौला र उमेश विरोधीको प्रस्तुति दोस्रो सत्रको आकर्षण हुनेछ’, साहित्यकार अनमोलले भनिन्, ‘लेडी जेसीजको इतिहासमा सहारा साहित्य साँझले यसपटक विशिष्ट महत्व राख्छ । यो एउटा उत्सव पनि हो ।’
पत्रकार सम्मेलनमा प्रमुख अतिथि रहेकी लेडी जेसीजकी पूर्व अध्यक्ष राधा सुब्बाले सहाराको सहयोगमा नयाँ र फरक कार्यक्रम आयोजना हुन लागेकोमा खुशी व्यक्त गरिन् । उनले लेडी जेसीजको गरिमा थप बढ्ने बताइन् ।
पत्रकार सम्मेलनमा पूर्व अध्यक्ष संगीता गिरी, पार्वता खरेल लगायतले कार्यक्रमको तयारी तथा व्यवस्थापनका विषयमा आ–आफ्नो धारणा राखेका थिए । महासचिव मुना ढुंगेलका अनुसार सह–सचिव एलिना रिजालले स्वागत गरेको कार्यक्रममा जनसम्पर्क अधिकारी तारा बस्नेतले जेसी आस्थावाचन गरेकी थिइन् ।